काठमाडाैँ । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि विहीबार मात्र गर्न लागिएको हो ।
अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र त्यो दिन शोक बिदा दिने सरकारले निर्णय गरिसकेको छ ।नेम्वाङ का जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज दिउँसो ४ बजे नेपाल आइपुग्ने जनाइएको छ । उनी सपरिवार बेलायत बस्दै आएका छन् । १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने दाजु भन्दा अगाडि नै फर्किने जनाइएको छ ।
नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन् । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा दिनभर राखेको छ । आज १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने एमालेले सूचना जारी गरेको छ । नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो ।



