काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको विषयमा मेयर बालेनले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति संकेत गर्दै जिल्ला प्रशासन कार्यलयले यस्तो अनुरोध गरेको छ ।
पत्नी चढेको गाडीलाई रोकेको भन्दै मेयर बालेन आक्रोशित हुदै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण पोस्ट सामाजिक सञ्जालमा राखेका थिए । उनले सो पोस्ट भने अहिले सामाजिक सञ्जालबाट हटाइसकेका छन् । उनले शनिबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत फोन गरेर आक्रोश व्यक्त गरेका थिए ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालेनको पोस्टको चर्को आलोचना बालेनको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै गाडी रोक्नेक्रममा सुरक्षाकर्मीकले अभद्र व्यवहार गरेको र मादकपदार्थ सेवन गरेको आरोप लगाएको थियो । यसै प्रसंगमा आज जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।





