काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए । ‘छलफल राम्रो भयो, तरङ्गमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छाैँ । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ,’ उनले भने ।
बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने जानकारी दिए । बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको उनको भनाई छ । उनकाअनुसार प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको छ ।
बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।




