काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स फिर्ता गरेको छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) भरतपुरलाई नै फिर्ता गरिएको हो ।
गैरकानूनी रूपमा रंग परिवर्तन गरेको ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो । विवादपछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको रास्वपा बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले बताए । अब अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रूपमा चलाउने उनको भनाई छ ।
विसं. २०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप दिएको थियो । नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको छ ।
रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । फिर्ता गरिएसँगै उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको छ ।




