दिल्लीमा नेपाली युथको परीक्षा

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपालको चौथो अभ्यास खेल वर्षाले प्रभावित पारेको छ । नेपाली यू–१९ ले सुरुका तीन खेल जितेको थियो ।

दिल्लीको ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस कम्प्लेक्समा टस जितेको नोयडा ११ लाई नेपाली यू–१९ ले ४९.३ ओभरमा २ सय ७८ रनमा अलआउट गर्‍यो । नेपालले २५ ओभरमा ३ विकेट गुमाई १ सय १७ रन बनाएको समयमा वर्षाले थप खेल हुन दिएन ।

वर्षाले खेल रोकिनुअगाडि अनिलकुमार शाहले ११ बलमा ५ चौका र आदिल खानले ३५ बलमा ३ चौका प्रहार गरी समान २२ रनमा नटआउट थिए । ओपनर सन्दीप सुनार ५, आसिफ शेख २८, प्रनित थापामगर २७ र कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । नोयडाका निमित सैनीले २ र दीपांशु यादवले १ विकेट लिए ।

यसअघि नोयडाबाट अनुरित सिंहले १ सय २१ रन बनाएका थिए । ८६ बल खेलेका उनले १४ चौका र ७ छक्का प्रहार गरे । उनले राहुल यादवसँग दोस्रो विकेटमा १ सय ३९ रनको साझेदारी गरे । राहुलले ७० बलमा ५ चौका प्रहार गरी ३७ रन बनाए । नमन शर्माले ३७ बलमा ३ चौका प्रहार गरी ३३ र परविन्दर अवानाले ३५ बलमा १ चौका र ५ छक्का प्रहार गरी ४३ रन बनाए ।

नेपाली यू–१९ बाट रोहित पौडेलले १० ओभरमा ५९ रन खर्चेर ४ र रसिद खानले ६.२ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । साहब आलम र ललितनारायण राजवंशीको नाममा १–१ विकेट रह्यो । नेपालले बिहीबार यही प्रतिद्वन्द्वीसँग अर्को अभ्यास खेल खेलेर भारत भ्रमण टुंग्याउने छ ।

नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले ओपनिङ ब्याट्सम्यान सन्दीप सुनारलाई बाउन्सर बलले काँधमा लागेकाले रिटायर्ड हर्ट भएको तर उनी अहिले ठीक अवस्थामा रहेको जनाए । उनका अनुसार सन्दीप लामिछानेलाई ‘रेस्ट’ दिइएको छ ।

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्र सिंगापुरमा जुलाई १५ देखि २६ सम्म आयोजना हुँदै छ । नेपाल र सिंगापुरसहित अफगानिस्तान र मलेसियाबीच डबल राउन्ड रोबिन लिगमा हुने खेलको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

 

कान्तिपुरबाट

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप