काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ । बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेकाअनुसार बैठकमा बजेटका पक्षमा मतदान गर्न ह्विप जारी भएको छ । नेकपा एसले बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरूले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए ।
यसअघि कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । विनियोजन विधेयक २०८० (बजेट) पास गर्नका लागि सरकारले आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गर्दै छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।




