काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वनएक्स बेटको प्रचार गरेर कलाकार तथा युट्युबरले ४० लाखसम्म कमिसन लिने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेकाे प्रारम्भिक अनुसन्धानमा पक्राउ गरेका कलाकार र युट्युबरले १० देखि ४० लाखसम्म रुपैयाँ बुझेर वनएक्स बेटको प्रचार गरेको स्वीकारेका हुन् ।
कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेका आठै जनाले वनएक्स बेट प्रचारका लागि रकम लिएको र साे रकम वनएक्स बेट कम्पनीबाट सिधै उनीहरूले बुझ्ने गरेकाे स्वीकारेका छन् । यसका लागि उनीहरूले युट्युब लगायतका माध्यममा प्राेमाे काेड प्रयाेग गरी वनएक्स बेटमा छुट पाउन सकिने भन्दै विज्ञापन गर्थे ।
नेपालमा प्रतिबन्धित वनएक्स बेटकाे प्रचारमा संलग्न कलाकार/युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) बिहीबार पक्राउ परेका थिए । उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।



