कोरोना महामारीको जस्तो सुविधा दिन सकिँदैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन सकिँदैन भनेका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीति माथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

कोरोनाको समयमा कर्जा भुक्तानी गर्न सहज होस् भनेर पुनर्तालिकीकरण, पुनसंरचना, पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा लगायतको सुविधा दिएपनि आगामी दिन त्यस्तो सुविधा दिन नसकिने बताए । ‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीहरूले दुरुपयोग गरे । बैंकले पनि कर्जा दुरुपयोग गर्ने माथि कुनै किसिमको कारवाही गर्न सकेन,’ अधिकारीले भने, ‘जसको कारणले गर्दा अहिले समस्या उत्पन्न भएको छ । केही व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधाको अपेक्षा गरेका छन् । तर, व्यवसायीलाई त्यसरी सुविधादिने नीतिले बैंकलाई कति असर गर्छ भनेर हामी विश्लेषण गदैछौ ।’

अधिकारीका अनुसार एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई मार्का पार्न नहुने । बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरी मौद्रिक नीति आउने उनले बताए । सरकारले लिने नीति पूरा गर्न कति मौद्रिक नीति बिस्तार गर्ने भनेर ध्यानदिने उनले बताए । गभर्नर अधिकारीले माइक्रो फाइनान्सले गरेको योगदानलाई सडक आन्दोलन हुँदैमा बिर्सन नसकिने बताए । अधिकारीका अनुसार ऋण लिएपछि सबैले तिर्नुपर्ने हुन्छ । यो नतिर्न भने हुँदैन ।

बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले राम्रो नतिजा देखाएको गभर्नर अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले राष्ट्र« बैंक सकेसम्म सहकारीमा छिन नचाहेको बताएका छन् । ‘बचत तथा ऋण सहकारी संस्थाले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो । त्यसलाई नियमन गर्न विशिष्टीकृत नियमन गर्ने संस्था यही वर्ष बनाउने र कार्यान्वयनमा जाने तयारी छ,’ उनले भने । सहकारीको पैसा जग्गामा गएकाले दोस्रो तहको नियामक खोलेपछि समस्या समाधान हुने कुरा उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री