काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएका छन् ।
केही सञ्चारमाध्यममा अनधिकृत व्यक्तिको संलग्नामा करको दर हेरफेर गरेको समाचार प्रकाशित भएपछि प्रतिपक्ष दलले आज अर्थमन्त्रीको जवाफ मागेको थियो । जवाफ दिने क्रममा अर्थमन्त्री महतले कुनै व्यक्तिको संलग्नता नरहेको संसदमा स्पष्ट पारे । उनले समाचारमा नाम जोडिएका रामकृष्ण श्रेष्ठ बजेट टाइप गर्ने बेलाका एक सहयोगी मात्र रहेको जानकारी दिए ।
कसैको प्रभावमा आफू नपरेको र बिचौलियालाई छेउछाउमा आउन नदिएको अर्थमन्त्री शर्माले बताए । उनले रामकृष्णलाई आफूले नियुक्त नगरेको पनि बताए । उनले भने, ‘म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठले नियुक्त लिइसक्नुभएको थियो । उहाँले ३०औँ वर्षदेखि काम गरेको र उहाँ विज्ञ भनेर चिनिने व्यक्ति पनि हो र उहाँ करको दर हेरफेरमा संलग्न पनि भएको होइन । मात्र बनिसकेको बजेट उहाँले टाइप गर्ने मात्र गरेको हो ।’




