काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने बताए । वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।



