चिनीको मूल्य ७० तोकियो, उखुको भुक्तानी दिन अल्टिमेटम

काठमाडौं । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बिक्री गर्ने व्यवसायीलाई कडा कारवाही गर्ने जनाइएको छ ।

अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सिंहदरवारमा बसेको बैठकले उक्त निर्देशन दिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जानकारी दिए । चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनपरी मूल्य असुल्न थालेपछि सरकारले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यभन्दा बढीमा चिनीको बिक्री गर्नेलाई कारवाही गर्ने समेत संयुक्त बैठकले निर्णय गरेको जानकारी गराएको छ ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा रोक लगाउने निर्णय गरेपछि व्यापारीहरुले चिनीको कालोबजारी गरि बढी मूल्यमा बिक्री गरिरहेको सरोकारवलाहरुको आरोप छ ।

गत आर्थिक वर्षमा भारत, पाकिस्तान लगायतका मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनु परेको भन्दै नेपाली उद्योगीहरुले गुनासो गरेपछि पछिल्लो समय सरकारले चिनी आयातमा कोटा प्रणाली लागू गरेको हो ।

पाँच दिनभित्र उखुको भुक्तानी गर्न निर्देशन

सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएको छ । चाडबाडको समयमा समेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले पाँच दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो ।

उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखेर रणनीति तयार गर्नका लागि आइतबारको मन्त्री परिषद बैठकले राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस