काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित सार्वजनिक गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै आरजुले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गरेर वेबसाइटमा राख्न माग गरेकी हुन् ।
आरजुले भनिन्- ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’
सांसद आरजुले आफ्नो श्रीमान् पाँच पटकसम्म प्रधानमन्त्री भएको र आफूहरूको सम्पत्ति सरकारलाई पटक पटक बुझाएको भन्दै त्यो सार्वजनिक गर्न आग्रह गरेकी छन् । आरजुले आफ्नो नाम पटक पटक लिइएकोप्रति आपत्ति जनाउँदै आफूले गल्ती नगरेको र महिला आफ्नो बलमा सार्वजनिक रूपमा आएको हाम्रो समाजले देख्न नसकेको आरोप लगाएकी छन् ।




