काठमाडौँ – उपनिर्वाचनको मतपरिणामअनुसार गज्जबको संयोग देखिएको छ । बारा, चितवन र तनहुँ तीनवटै निर्वाचन क्षेत्रमा आफूलाई मत नहालेका उम्मेदवारले जित हात पारेका छन् भने आफैँलाई मत हालेका उम्मेदवारहरूले हार ब्यहोरेका छन् ।
बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले आफूलाई मत पाएका थिएनन् । यादवको मतदाता नामावलीको नाम सुनसरीमा हुँदा उनी आफूलाई मत दिन वञ्चित भए तर, जित निकाले । उनले त्यहाँ आफूलाई भोट हालेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहलाई पराजित गरे । यादवले २८ हजार ४१५ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन् ।
चितवन-२ र तनहुँ-१ मा उम्मेदवारी दिएका दुवै कांग्रेसी उम्मेदवारले मतदान गरेका थिए भने रास्वपा र नेकपा एमालेका उम्मेदवारले आफूलाई मत हाल्न पाएका थिएनन् । चितवनबाट निर्वाचित रवि लामिछानेको मतदाता नामावली चितवनमा नरहेका कारण उनले आफूलाई मत हाल्न पाएनन् । तर उनले निर्वाचनमा गत मंसिरमा भन्दा बढी मत र मतान्तरसहित जित हात पारे । रविले सोही आफैँलाई मत हालेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई ४३ हजार भन्दा बढी मतान्तरले पराजित गरे । एमालेका रामप्रसाद न्यौपाने चितवनकै भएपनि उनको मतदाता नामावली चितवन । ३ मा रहेको थियो ।
तनहुँ-१ मा पनि आफैँलाई मत हालेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले हार व्यहोरे । उनलाई २४ दिन अघि कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका स्वर्णिम वाग्लेले पराजित गरे । तनहुँमा पनि आफूलाई मत हाल्ने गरी चुनावी मैदानमा उत्रिएका अरू उम्मेदवारहरूले पराजय भोगेका छन् ।




