जीवन मरणको जोखिम मोल्दै यसरी पुग्छन् नेपाली युवा पैदल मार्गहुँदै अमेरिका

काठमाडाैं । अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन । मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन ।  यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वासिंटन डिसीबाट चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती कूटनीतिज्ञले भने, ‘लाखौं खर्चेर ‘ल्यान्ड अफ अपरचुनिटी’ मानिने मुलुक अमेरिका प्रवेशमा लालायित युवाको जमात दिनप्रतिदिन बढ्दो छ।’

केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिज्ञ समक्ष भन्न थालेका छन्। सरकारलाई दिएको जानकारी दलालकहाँ पुग्ने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका हुन्।

अन्य मुलुकको नागरिक समेत नेपाली भनेर जान थालेका छन्। नेपाली कूटनीतिक निकाय सक्रिय भएर अध्ययन अनुसन्धान गर्नपर्ने हो। तर, उल्टै दक्षिण र मध्य अमेरिकी मुलुकका अधिकारीलाई नसघाएकै कारण नेपाली अलपत्र पर्ने गरेको अमेरिका प्रवेश गर्नेको अनुभव छ।

जोखिमको यात्रामा कडाइ गरिरहेको भनिए पनि नेपाली वा नेपाली भन्नेहरू अमेरिका छिरिरहेका छन्। जताबाट गए पनि अन्तिम विन्दु मेक्सिको रहेको छ। अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्य दूतको कार्यालयले स्थलमार्गबाट नेपाली आउने क्रम नरोकिएको स्विकारेको छ।

दूतावास अधिकारीका अनुसार महिनामा दुई सयको आसपासमा नेपाली युवायुवती स्थलमार्गबाट आइरहेका हुन्छन्। यसको यकिन तथ्यांक भने दूतावाससँग छैन। कम्तीमा ३० देखि अधिकतम ७५ लाखसम्म खर्च गरेर अमेरिका पैदल मार्गबाट नेपाली युवा अमेरिका पुगेको जानकारी दूतावाससँग छ। अन्तराष्ट्रिय माफियाले काठमाडौंबाट कहिले कतार, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिराउँछन्।

कहिले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र अनि अफ्रिका हुँदै दक्षिण र मध्य अमेरिकी मुलुकबाट मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेका छन्। एकै रुटबाट लैजाँदा बाटोमा पक्राउ पर्ने र डिपोर्ट हुने भएपछि फरकफरक रुटबाट लैजाने गरेको जानकारी दूतावासले सरकारलाई गराएको छ। उनीहरूले कहिले कतार, अबुधाबी तथा कहिले दिल्ली, थाइल्यान्ड, सिंगापुरलगायतबाट पनि लैजाने गरेका छन्।

नेपालबाट पहिले भारत नै पुर्‍याउने वा भिजिट भिसामा दुबई, अबुधाबी, थाइल्यान्ड र अनअराइभल भिसामा सिंगापुर लगेर पनि त्यहाँबाट सेटिङ गर्ने गरेको जानकारी दूतावास अधिकारीलाई अमेरिका पुग्नेले सुनाउने गरेका छन्।

थाइल्यान्ड सिंगापुरको रुट उपयोग गरेमा त्यहाँबाट कम्बोडिया र भियतनाम हुँदै खाडी मुलुक र त्यसपछि अफ्रिका वा सिधै दक्षिण वा मध्य अमेरिकी मुलुक पुर्‍याइन्छ। मुख्यतः बोलिभिया, पानामा, कोस्टारिका, पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट अमेरिका प्रवेशको पछिल्लो विन्दु मेक्सिको बनाइन्छ। मेक्सिमा नेपालीहरू एजेन्टको रूपमा रहेको जानकारी पनि दूतावासलाई छ तर केही गर्न सकेको छैन।

जीवन–मरणको जोखिम
दलालबाट तय गरिएको अमेरिका यात्रा सहज छैन। कतिपय स्थानमा हिंड्दै, रेल, बस र डुंगाको यात्रामा आउनुपर्छ। रात बिहान भन्न पाइँदैन। कैयन् दिनसम्म हिंड्नुपर्ने हुन्छ। खाने–बस्ने टुंगो हुँदैन। जीवनमरण बीचमा अमेरिका पुग्ने सपना देख्छन्।

लाखौं खर्चनुको अर्थ हो, ‘आफ्नो कमाइ र परिवारसमेत अमेरिका गमन हुने अवसर।’ सीमित अक्सिजन राखिएका वा साना छिद्र बनाएर पेट्रोल बोक्ने ट्यांकरको चार खण्डमध्ये एक खण्डमा चार पाँच जना बसेर समेत यात्रा गरेको न्युयोर्कस्थित अधिकारीले सुनाए।

बोलिभियाबाट यसरी नेपाली आएको सुनाएको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले बताए। ‘सानो गल्तीमा ज्यानै जाने खालको यात्रा तय गरेर अमेरिका आइपुगेका छन्, उनीहरू’, उनले भने, ‘यो रोकिएको छैन। आफ्ना डकुमेन्ट नेपालबाट मगाएर महावाणिज्य दूतावासमा नआउने पनि छन्। पहिले नै सबै तयारी गरेर आउँछन।’

कतिपय बाटैमा हिँड्न नसकेर बिरामी परेर, पानीमा खसेर मर्छन्। कतिपय बिरामी परेर घर फर्कन डिपोर्ट हुन सरेन्डर गर्छन्। जंगलमा हिँड्न नसकेर मरेका पनि समाचारमा आइरहेका हुन्छन् तर पहिचान खुल्दैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस