काठमाडौं – ढाकाकुमार श्रेष्ठमाथि लागेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गत चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
संघीय संसद्का प्रवक्ता एकराम गिरीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय सचिवालयले पार्टीले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको बताए । सचिवालयले आइतबारदेखि अध्ययन गरेर उक्त निर्णय बारेको यथार्थ सभामुखलाई जानकारी गराउने उनको भनाई छ ।
अब सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकताको क्रम अनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने प्रावधान रहेको छ ।




