काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियमविपरीत पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पार्दै निजी विद्यालयलाई चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका पालना गर्न स्मरण गराएका हुन् ।
निजी विद्यालयहरूले नियमविपरीत विद्यालयमै अभिभावकहरूलाई पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पारेको गुनासो छ । ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।’
महानगर गुनासो आएपछि नियमविपरीत खरिद गर्न नलगाउन सबै निजी विद्यालयलाई चैत १७ परिपत्र जारी गरी निर्देशन दिएको थियो । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित)मा विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने व्यवस्था छ ।




