काठमाडौं । सर्लाही प्रहरीले झण्डै पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवकलाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरबाट सर्लाहीको बलरा नगरपालिका– ५ अर्नाहा निवासी ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रायलाई पक्राउ गरेको जिप्रका सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए ।
रायको साथबाट हजार दरका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट, नोट आकारको कागजको बन्डल २४ थान र प्रिन्ट पेपर दुई रिम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले राय सवार बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल र सोही ठाउँमा रोकिराखेको बीआर ३० ए ५९६८ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।
तपाईंको प्रतिकृया




