काठमाडौँ । कांग्रेस नेता एवं सांसद डा. सुनिल शर्माले उपचाररत नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सकको टोलीसहित गएका उनले शनिबार भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर अवस्थाबारे जानकारी लिएका हुन् ।
पार्टीका तर्फबाट सांसद शर्मा बर्न सेन्टरका प्रमुख प्लास्टिक सर्जन डा. शंकरमान राईलाईसमेत लिएर भेट्न पुगेका थिए । उपचाररत नेता भण्डारीलाई भेटेपछि प्रतिक्रिया दिँदै उनले स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए । ‘डा. शर्माले चन्द्र भण्डारीको सबै अवस्था बुझेको छु, सबै राम्रो भइरहेको छ,’ उनले भने, ‘सुधार तीव्र गतिमा भइरहेकोले एक महिनाभित्र उहाँ (डा. भण्डारी) अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ ।’
डा. भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनकी ८६ वर्षीया आमाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।




