खाने पानीमा भएकाे अनियमितता र महँगी हटाउनुपर्छ : मन्त्री खान

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले सो दाबी गरेका हुन् ।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे ।

‘हामीले ‘एक घर एक धारा’को अभियानका रुपमा काम अघि बढाइरहेका छौँ । यो काममा हाम्रो मन्त्रालय अघि बढेको छ। हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ,’ मन्त्री खानले भने, ‘यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन ।’

उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए । उनले अब छिट्टै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताललगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए ।

उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए । मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे ।

उनले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए । ‘सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ । मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन,’ उनले भने, ‘किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन । बोतल र जारको पानीमा जुन अनियमितता, महंगी छ त्यो नहुनुपर्ने हो, पानीमा हामी यत्रो धनी हुँदाहुँदै पनि यत्रो महँगोमा किनेर खानुपर्ने कुरा दुःखको कुरा हो, पानीको मूल्य घटाउनुपर्छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री