प्रचण्डका घरबेटीले लिएको भक्तपुर-नगरकोट सडक खण्डको ठेक्का सम्झौता रद्द

काठमाडाैँ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ ।

विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

गएको फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रत्यक्ष अनुगमन गरी मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी भनिएका शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री