काठमाडाैं । दक्षिण कोरियाका एक उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला संसद्समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् ।
कोरिया एकीकरणमन्त्री चो म्योङ–ग्योनले सोमबार संसद्मा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै थिए । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि स्पष्ट पारे । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन ।
मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको नबुझ्न भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।
उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको एक प्रतिवेदनअनुसार उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ र यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ ।
धेरै विदेशी विज्ञहरूले उत्तर कोरियाले अरू पनि गोप्य युरेनियम–प्रशोधन प्लान्ट सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनहरूमा अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
प्रतिकृया दिनुहॊस