नारी दिवसमा आईसीटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्लुआईआईटी

काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक(१०१) महिलाहरुलाई सम्मान गर्ने भएको छ। उनीहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र सम्मान कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम फागुन २४ गते होटल हायात प्लेसमा आयोजना हुनेछ। प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लुआइआइटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिइन्। उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि-नोट’ वक्ताको रुमा रहनेछिन्।

्उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुति दिनेछिन्। यस्तै वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकमकी निर्देशक, मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट शहर, स्मार्ट समुदाय, स्मार्ट परिवार जस्ता साँच्चै स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

यस कन्फ्रेन्समा प्रमुख अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री रेखा शर्माको उपस्थिति रहनेछ । त्यस्तै विशेष अतिथिको रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्य लगायतको उपस्थिति हुनेछ ।

यस सम्मेलनमा १०१ जना आइसिटी क्षेत्रका महिलाहरुको बारेमा समावेश भएको किताबसमेत सार्वजनिक गरिने सूचना प्रविधिमा महिला अर्थात डब्लुआइआइटी सस्थाका उपाध्यक्ष शिला कंसाकार कार्कीले बताइन्। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरुलाई कार्यक्रममा माननीय मन्त्रीको हातबाट सम्मान गरिने संस्थाले जनाएको छ ।

वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्लुआइआइटी)को आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाल टेलिकम इन एसोसिएसन विथ र लिभिङ विथ आइसिटी सहयोगी सस्थाको रुपमा सहकार्य रहेको छ । डब्लुआइआइटी आइसिटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनिलाहरुलाई थप प्रोत्साहनको लागि स्थापना गरिएको गैरसरकारी संस्था हो ।

संस्थाले महिलाहरुका लागि विभिन्न वर्कशप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सस्थाले काठमाडौं वाहिर पनि पोखरा र अन्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ।

संस्थाले गत वर्ष साइबर सुरक्षा सम्वन्धी विशेष वार्षिक प्रकाशन (पुस्तक) सार्वजनिक गरेको थियो । संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय सस्थाहरुको सहकार्यमा सूचना प्रविधिको क्षेत्रमा महिलाको उपस्थितिलाइ गर्विलो बनाउने प्रयास गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री