वित्तीय समस्याबारे गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक तथा वित्तीय क्षेत्रका समसामयिक समस्याका बारेमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरूसँग छलफल गरेका हुन् ।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल थालेका हुन् । बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन् ।

यता बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौं, मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरू समेत सडक आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले यिनै विषयमा सरोकारवालाहरूसँग छलफल सुरु गरेका हुन् ।

छलफलमा मुख्य सचिव शङ्करदास बैरागी,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्मालगायतको सहभागिता छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप