११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा महिला चेम्बरद्वारा महिला उद्यमी सम्मानित

काठमाडौँ । नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम् सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नाराका साथ कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरुपा श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सुशीला आर्टस् एकेडेमीका कलाकारहरूले रिदम र सोल थिममा आधारित रही साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहेको उल्लेख गर्दै महिलाहरू हिंसामा प्रभावित भएको घटना बढ्दै गएको जानकारी दिइन् । महिलाहरू जूगौदेखि उत्पीडनमा पर्दै आएकोमा आधुनिक विश्वमा अगाडि बढ्न सहज देखिएता पनि घर परिवारकै साथ नपाउँदा महिलाहरूलाई हरेक जसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको जिकिर गरे । पुरुषका तुलनामा महिलाहरूले कम ज्याला दिने गरिएको उल्लेख गर्दै उनले यस्तो विभेदको अन्त्य गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले  महिलाहरूलाई अघि बढ्न हौसला मिल्ने बताइन् । विश्वभरमा अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको उनले उल्लेख गरिन् । महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागिता एवम्  प्रतिनिधित्व अर्थपूर्ण हुने उनको भनाई छ ।

नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुँदै देशको अर्थतन्त्र खस्केको चित्रणसहित उत्पादनशील क्षेत्रमा लगानी बिस्तार गर्नुको विकल्प नरहेको बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस