काठमाडौं । प्रदेश एक संसदमा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ। पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसदले दोस्रो कार्यकालमा भने नाम पाउने सम्भवना बढेको छ । नामकरणको विषयमा आलोचना खेप्दै आएको प्रदेशसभाको आजको बैठकमा नामकरणको विषयले प्रबेश पाउने सांसदहरु बताउँछन् ।
नेकपा (एमाले), कांग्रेस र राप्रपाले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। माओवादी केन्द्र जसपा र एकीकृत समाजवादीले लगायतका दलका सांसदले अर्कै नाम पेश गर्ने तयारी गरेको जनाइएको छ।
प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको प्रदेश संसद छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् ।
प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच अझै सहमित भएको छैन ।



