काठमाडाैँ । खोटाङ उद्योग वाणिज्य संघले आफ्नै सचिवालय भवन निर्माण गरेको छ । घर भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको संघले जिल्ला अदालतमुनि करिब दुई रोपनी जग्गामा पक्की सचिवालय भवन निर्माण गरेको हो ।
संघ स्थापनाको करिब ४० वर्षपछि ५६ लाख २३ हजार तीन सय लगानीमा निर्माण गरिएको एकतले सचिवालय भवनको २५औँ साधारणसभा तथा ११औँ अधिवेशनकोे अवसर पारेर शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको छ ।
भवन निर्माणमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राईको कार्यकालमा विनियोजन भएको २८ लाख, संघको साधारण सदस्यबाट संकलित १६ लाख ८१ हजार आठ सय ३३ र खोटाङ उद्योग वाणिज्य संघको ११ लाख ४१ हजार चार सय ६७ रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष युधिर शाक्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहॊस