सुनचाँदीसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

काठमाडौं । देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग गरेका छन् । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो ।

महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा आउनुपर्र्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएको छ । व्यवसायीले निर्वाधरूपमा राज्यको कर दायित्व भुक्तानी गरी स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न स्पष्ट मापदण्ड, ऐन, कानुन बनाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

विगत लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट कुनै सुनुवाइ नभएको भन्दै व्यवसायीले अर्थमन्त्रीसँग असन्तुष्टिसमेत प्रकट गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी स्पष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थ अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र अवरोध उत्पन्न हुने उहाँको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप