काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । राष्ट्रपतिको निर्वाचन नजिकिरहँदा सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोसपाका शीर्ष नेताहरूले आज कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने भएका हुन् ।
लोसपाका शीर्ष नेता राजेन्द्र महतोकाअनुसार प्रस्ताव लिएर बिहान ९ बजेपछि देउवालाई भेट्ने तय भएको छ । लोसपाका शीर्ष नेताले हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । भेट पनि उनीहरूले राष्ट्रपतिको उम्मेदवार महन्थ ठाकुरलाई बनाउन आग्रह गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ । राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आकलन गरिएको छ ।




