काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।
भारतको मुम्बईमा उपचाररत उनको अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्नेछ । जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरूले बताएको अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए । उनकाअनुसार भण्डारी होसमा आइसकेका छन् ।
अहिले नेता भण्डारीमा कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । भोलि भेन्टिलेटर हटाएर हेर्ने तयारी भइरहेको उनमा सहयोग माधव न्यौपानेले बताए । ‘डाक्टरबाट काउन्सिलिङ सम्पन्न भएको छ । कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । र भोलिबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने छ,’ उनले अगाडि भनेका छन्, ‘हातको जलेको पार्टले कार्य गर्न थालेको छ । अप्रेसन पछिको पहिलो ड्रेसिङमा हुनुहुन्छ । सुन्निएको भाग घट्दै गएको छ ।अवस्था सामान्य बन्दै गएको छ ।’
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।



