काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयका भिक्षु शिक्षा अध्ययनरत १० जनालाई छात्रवृत्ति प्रदान गरेको छ।
कम्पनीले प्रतिविद्यार्थी वार्षिक १२ हजारको दरले १ लाख २० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको हो। कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रवृत्ति प्रदान गरेको हो।
उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दै गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरेका थिए।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्वसञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानलगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति थियो।




