काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार प्रदेश सभामा प्रस्तुत प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
मुख्यमन्त्री रावलले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुखले निर्णयका लागि पेस गरेका थिए । ध्वनि मतबाट गरिएको मत विभाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए ।
रावलले गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको प्रावधान अनुसार उनले विश्वासको मत लिनुपर्ने समयसीमा बिहीबारसम्म थियो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।
जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तको सर्त पुरा गर्न सत्ता गठबन्धनले नसकेपछि सरकार नै ढलेको हो ।



