काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १२ जना महिलाहरूलाई भारतबाट उद्धार गरेको छ । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुष महिनामा भारत लगेर दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरूलाई उद्धार गरिएको जनाएको हो ।
महिलाहरू मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न ब्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको सहकार्यमा उनीहरूको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
नेपालबाट भारत लैजाने क्रममा जोगबनी, काँकडभिट्टा, जमुनाह, सुनौली लगायतका नाकाहरू प्रयोग हुने गरेको श्रेष्ठले जानकारी दिए । मानव बेचबिखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरूको पहिचान गरी खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठ को भनाई छ



