भाइदेगा मन्दिर पुनर्निर्माणका लागि शिवरात्रिका दिन पैदलयात्रा

काठमाडौँ । भाइदेगा मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ पदयात्रा हुने भएको छ । रोटरी क्लब अफ पाटन हेरिटेजले फागुन ६ शिवरात्रिका दिन ललितपुरमा सम्पदा पदयात्रा गर्ने भएको हो ।

मंगलबजारस्थित दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु हुने पदमार्ग पुल्चोक–अलेश्वर–महाविहार–भनिमण्डल–जलविनायक–पांगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिर प्रांगणमा समापन हुनेछ । पैदल यात्रामा करिब दुई हजारभन्दा बढी व्यक्तिलाई सहभागी गराउने संस्थाले जनाएको छ ।

ललितपुर दरबारस्क्वायरको दक्षिण–पश्चिमतर्फ निर्माणाधीन अवस्थामा रहेको सल्ने शैलीको यो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएको थियो । इतिहासकारहरूका अनुसार उक्त मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा चौतारा भारी भागिरथ भैयाले १७३५ मा बनाएका थिए ।

भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा उक्त मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजले जनाएको छ । पैदल यात्रामा सहभागिता जनाउन इच्छुक व्यक्तिले प्रतिव्यक्ति ७०० सहयोगस्वरूप खल्ती एप वा कुमारी बैंक लिमिटेडको क्युआर कोड स्क्यान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम दाखिला गरी नाम दर्ता गराउन सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री