काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवा सुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।
सरकारलाई विश्वासको मत नदिएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले पनि विपक्षी दलमा आफूहरूको दाबी रहने बताउँदै आएका थिए । सरकारलाई विश्वासको मत दिएको दलले विपक्षी दलको मान्यता पाउन नसक्ने यी दुई पार्टीको तर्कबीच कांग्रेसलाई सचिवालयले उक्त मान्यता दिएको छ ।
कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा ऐनअनुसार सेवा सुविधा दिइनेछ । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलका नेताले विशिष्टीकृत सुविधा प्राप्त गर्दछन् ।
प्रमुख विपक्षी दलका नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, इन्धन सुविधा, मोबाइल, बिजुली, धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमालगायत सुविधा पाउँछन् ।
विपक्षी दलका नेतालाई स्वकीय सचिव, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक दुई-दुई जना, सैनिक, प्रहरी जवान १० जना, बिल्लादार गार्ड र अङ्गरक्षक एक-एक जना उपलब्ध हुन्छ । अर्कातिर अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामान र दुईवटा साइकल पनि विपक्षी नेताले पाउने व्यवस्था छ ।




