लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् ।

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिवालयका अनुसार सभामुखमा माओवादीबाट तुलाराम घर्तीको र उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमती भएको थियो । त्यही सहमती अनुसार एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सभामुखका उम्मेदवार घर्तीलाई एमाले नेता एवं प्रदेशसभा सदस्य भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका संसदीय दलका नेता आशिषकुमार चौधरीको समर्थन रहेको छ ।

सत्तापक्षीय गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ प्रदेश सभा सदस्य छ । त्यस्तै स्वतन्त्र दुई सदस्य छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री