काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि (माघ २ गते) राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’
’दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छ’, उनले भने, ’गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।’
आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनिल थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य छन् ।
आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने रहेका छन्। यो आयोगलाई ४५ दिनको समय दिइएको छ । विमान दुर्घटनाबारे थप बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाँदैछन् ।
पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए । उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लैजान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको बताएका छन् ।




