प्रचण्डले कांग्रेससँग हिमचिम बढाउँदा बालकोट सशंकित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले नेपाली कांग्रेससँग हिमचिम बढाएको संकेत दिएका छन् । उनले कांग्रेसलाई पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका बताएसँगै हिमचिमको आशंकामा बल पुगेको हो ।

संविधानको रक्षाका लागि भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले शक्ति बाँडफाँटमा राष्ट्रपतिमा चासो राखेको छ । र प्रधानमन्त्री प्रचण्डले शनिबार सम्पादकहरूसँगको भेटघाटमा राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग पनि छलफल हुने सुनाए । ३ माघमा सर्वदलीय बैठक बस्ने र सबै दलको छलफलबाट बाँडफाँट टुंगो लाग्ने उनको भनाइ छ ।

प्रचण्डले एमालेसँग सहमतिका क्रममा कांग्रेसको भूमिका प्रतिपक्षको हुने कल्पना गरेको र विश्वासको मतपछि परिस्थिति फरक परेकाले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्नुपर्ने दायित्व बढेको बताए । ‘ओलीजी र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्षमा हुन्छ भन्ने कल्पना थियो । कांग्रेसले नै मलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि मेरो पनि जिम्मेवारी हुने भयो,’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने भन्नेतिर गम्भीर भएर लागेको छु । ३ माघमा सर्वदलीय बैठक बोलाएको छु, त्यहाँबाट सबै स्पष्ट हुन्छ ।’

संसद्को सबैभन्दा ठूलो दल भएनि सत्ताको गुमाउन पुगेको कांग्रेस सरकारलाई विश्वासको मत दिएसँगै राष्ट्रपति आफ्नो पक्षमा पार्न गृहकार्यमा छ । यसका लागि कांग्रेस नेताले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतासँग भेटघाट जारी राखेका छन् । ५ माघमा हुने सभामुखको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा कांग्रेसका लागि ढोका खुला गरिसकेका छन् । यि पछिल्ला राजनीतिक घटनाक्रमले एमाले सशंकित छ भने अध्यक्ष केपी शर्मा ओली ओली चनाखो भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई बाक्लो बनाएका छन् ।

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भने कांग्रेस शक्ति बाँडफाँटमा सहभागी हुने अवस्था नरहेको र उसले अहिले एमाले–माओवादी सम्बन्धमा दरार ल्याउन प्रयास गरिरहेको बताउँछन् । ‘सरकारलाई उहाँहरूसँगको भोट आवश्यक थिएन, उहाँहरूले नै भोट दिनुभयो । कांग्रेसले विश्वासको मत दिएर एमाले र माओवादीमा आशंका जन्माउन खोजेको हो, यो सफल हुँदैन,’ उनले भने, ‘अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीचको छलफलमा राष्ट्रपति एमालेले पाउने र सभामुखमा आलोपालोको सहमति भएको हो । बैठक बस्दैमा केही परिवर्तन हुँदैन । हामी सहमतिअनुसार अघि बढ्छौँ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री