काठमाडौँ । सरकारले संसदमा विश्वासको मत लिनु अघि नै अर्थमन्त्रालयका सचिव परिवर्तन गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयमा अर्थ र राजस्व गरी दुई सचिवको दरबन्दी छ । यी मध्ये अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई विश्वासको मत लिनुअघि नै परिवर्तन गर्ने तयारी भएको मन्त्री पौडेलको सचिवालय स्रोतले बताएको छ ।
यद्यपी विश्वासको मत लिनुअघि नै सचिवको सरुवाबारे गठबन्धन दलबीच छलफल भई सहमति भने भएको छैन । गठबन्धनमा सहमति नभए अर्थमन्त्रालयभित्रैबाट जिम्मेवारी हेरफेर गरेर भए पनि सचिव परिवर्तन गर्ने सरकारको तयारी रहेको बुझिएको छ ।
पुष्करलाई परिवर्तन गरी बन्ने अर्थसचिवको सूचीमा हालका राजस्व सचिव रामेश्वर दंगाल, वाणिज्य सचिव तोयम राय, सञ्चार सचिव वैकुण्ड अर्याल, केवल भण्डारीलगायत रहेका छन् ।
धराशयी भएको अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी पूरा गर्न अर्थमन्त्री विष्णु पौडेलले नयाँ र सक्षम टिम बनाउन लागेको स्रोतको भनाई छ । उनले अर्थकै पृष्ठभूमि भएका सचिवलाई अर्थमन्त्रालयमा ल्याउने देखिएको छ । पुष्करलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिवकाे जिम्मेवारीमा ल्याएका थिए ।




