पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

काठमाडाैँ । सात दलीय सत्ता गठबन्धनले आगामी ५ दिनभित्र न्यनूतम् साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय लिएको हाे ।

बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । उनले बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको बताए।

‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ । सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो,’ लामिछानेले भने, ‘न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य पनि पठाउने तयारी छ ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । यसमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री