एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग ‘केवल शान्ति’ भनेको र आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताएका छन् ।
अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखा पर्दै उनले सो धारणा राखेका हुन् । ‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौंको ज्यान लिने, लाखौंलाई विस्थापित गर्ने र सहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो एकदमै दार्शनिक वर्णन हो। त्यहाँ न्यायसंगत युद्ध भएको छैन । ’
उनले अगाडि थपे, ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि शान्ति भनेको मेरो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा सम्झौता नहुनु हो ।’
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धमा जेलेन्स्की एक्लो नभएको बताए । सम्बोधनमा वाइडेनले भने, ‘तपाई कहिल्यै एक्लै खडा हुनु हुने छैन ।’ उनले युक्रेनलाई नयाँ मिसाइल प्रतिरक्षा प्रणालीसहित दीर्घकालीन अमेरिकी समर्थनको वाचा दोहोर्याए । युक्रेनी राष्ट्रपतिले बाइडेन, अमेरिकी कांग्रेस र आम अमेरिकी समर्थनको प्रशंसा गरे ।




