ओठ संवेदनशिल अंग हो । त्यसैले यसको हेरचाह पनि विशेष किसिमले गर्नुपर्छ । जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ ।
त्यसैले फुट्छ । जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ ।
ओठ फुट्ने कारण :
– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा
रोकथामका उपाय :
– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।
– राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ ।
– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।
– समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ ।
– भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।
– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
– यदि ओठ फुटेर घाउ नै भयो भने चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।



