काठमाडौँ । शिवम् सिमेन्ट डुब्ने अवस्था पुगेपछि अध्यक्ष सुरेन्द्र गोयलले डेढ अर्बको शेयर बिक्री गरेका छन्। उनले गत कार्तिक १९ गतेदेखि मंसिर २० गतेसम्म डेढ अर्बभन्दा बढी मूल्यको २७ लाख ४३ हजार ९०० कित्ता शेयर बिक्री गरिसकेका छन् ।
हेटौडा उपमहानगरपालिकाको मध्य भागमा रहेको शिवम् सिमेन्ट बिस्तारै हिमाल सिमेन्ट हुने भेऊ पाएपछि अध्यक्ष गोयलले रातारात सेटिङ गरेर २७ लाख ४३ हजार ९०० कित्ता शेयर अन्यत्र नै बिक्री गरेका हुन्।
हेटौडाको मध्य सहरमा रहेको उद्योग विभिन्न कारणले सङ्कटमा छ। स्थानीयवासीले प्रदूषण भएको भन्दै उद्योग बन्द गर्न दबाब दिइरहेका छन् । आर्थिक सङ्कटका कारण पछिल्लो एक वर्षमा कम्पनीले खासै उत्पादन समेत गर्न सकेको छैन ।
पछिल्लो समय भुक्तानी सन्तुलनमै समस्या भोग्ने अवस्थामा पुगेको शिवम् सिमेन्टका अध्यक्षले नै रातारात आफ्नो शेयर अन्यत्र नै बिक्री गरेपछि कम्पनीको अवस्था अझ दयनीय हुँदै गएको छ ।
धितो पत्र कानुन अनुसार कुनै पनि पब्लिक कम्पनीको अध्यक्षले आफू अध्यक्षमा रहँदासम्म र छोडेको एक वर्षसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न नपाउने व्यवस्था छ । सो व्यवस्था विपरीत, कानुनी सजाय झेलेरै भए पनि उनले ठुलो मात्रामा शेयर बिक्री गरिसकेका छन् । शिवम् सिमेन्टमा अध्यक्ष गोयलको नाममा ४६ लाख ४६ हजार ४०० कित्ता शेयर थियो । अब १९ लाख दुई हजार ५०० कित्ता शेयर मात्रै बाँकी छ ।
लगानीकर्ताको हित विपरीतको काम गर्दा समेत नियामक निकाय नेपाल धितो पत्र बोर्डले कारबाहीमा खासै चासो देखाएको छैन । लगानीकर्ताहरूले भने तत्कालै एक्सन लिन बोर्डलाई दबाब दिइरहेका छन् । अध्यक्ष पदमा बहाल रहेकै बखत बहुमत शेयर बिक्री गरी थोरै मात्रै बाँकी राखेकोले अध्यक्ष गोयलले अब शिवम् सिमेन्टबाट राजीनामा दिने तयारी समेत भइरहेको जनाइएको छ ।




