काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताए ।
उनले भने, ‘गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।’ उनले राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन भने ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा विकास र समृद्धि चाहेको बताउँदै उनले त्यो चाहनालाई कत्ति पनि विलम्ब नगरी आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रुपमा राइजिङ नेपाल गोरखापत्र प्रकाशन सुरु भएको ६४ वर्षपछि मात्रै प्रकाशन भएको हो । राइजिङ नेपालको प्रथम सम्पादक वरुण शमशेर राणा थिए । अहिले १५ औँ सम्पादकका रुपमा भीमसेन थपलिया छन् ।




