काठमाडौं – नेपालको आर्थिक अवस्थामा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार देखिएको छ ।
कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा रहेको छ । चालु खाता घाटाको तथ्याङ्कमा पनि सुधार आएको छ । पोहोरको कात्तिकमा चालु खाता दुई खर्ब २० अर्ब रुपैयाँले घाटामा रहेकोमा अहिले ३५ अर्ब ४० करोड रुपैयाँ घाटामा रहेको छ ।
यस्तै विदेशी विनिमयको सञ्चितिमा पनि सुधार हुँदै गएको छ । गएको असारमा १२ खर्ब १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा कात्तिकमा साढे दुई प्रतिशतले वृद्धि भइ १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति एक प्रतिशतले बढेर नौ अर्ब ६३ करोड कायम भएको छ । असोजमा नौ अर्ब ४८ करोड डलर सञ्चिति रहेको थियो ।
यस्तै विप्रेषण (रेमिट्यान्स) पनि २० दशमलव ४ प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकतर्फ आर्थिक वर्ष २०७९-८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।



