कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन्।

उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताए।

उनले भने, ‘ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो।’

ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे। नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ।

उनले भने, ‘राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु।’

दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे।

काठमाडौँ उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक, भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सरहानीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको बताए।

सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवद्र्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकरात्मक रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले यस दिवसले नयाँ जोश र उत्साहका साथ ज्यापु समुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अन्य समुदायसँग सहकार्य गर्दै अघि बढ्न तथा मुलुकमा राष्ट्रिय एकताको भावनालाई थप सुदृढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री