काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घण्टी पनि बजाउन नपाउनू भन्दै व्यङ्ग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घण्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिऊँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’
काँग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालाको चुनाव चिह्न माछामा भोट माग्दै उनले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको प्रशंसा गरेका थिए । ओली भन्छन् ‘मैले सुनेको छु यस क्षेत्रमा अनेक थरी मान्छे उठेका छन् । कोही बिरामी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टेलिभिजनमा समाचार भन्नुपर्ने त्यो छोडेर यता आएछन् । कोही के गर्नुपर्ने हो रु कता जानुपर्ने हो बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन् । कता हो कता ? दिनेशजी त्यस्तो होइन’ ।



