काठमाडाैं । एनआरएनएले डोटीमा भुकम्पबाट पीडीतलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर सहयोग गर्ने बताएकी छन् ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईते भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् । गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
भेटमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए । बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।



