संयुक्त यात्राको मार्गमा अगाडि बढ्न अध्यक्ष नेपालकाे आग्रह

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ। वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको बताउनुभयाे। पार्टी र नेतामा देखापरेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरुले विद्रोह गरेको उहाँले बताउनुभयो। गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको तथ्य उहाँले पेश गर्नुभयो ।

न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन आग्रह उहाँले गर्नुभयो । नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताउनुभयो ।

नेपालले भन्नुभयो, “हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनः जाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, नेपालले भन्नुभयो । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उहाँले पार्टी र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप