प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताउनुभएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो। चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ।”
प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिताको दौरानमा हाम्रा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उहाँले बताउनुभयो । प्रतियोगिता सफलताका साथ सम्पन्न गरेर हामीले खेलकुद क्षेत्रको विकासमा नयाँ इतिहास बनाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेल प्रतियोगितमा एक जना खेलाडीको दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीले दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उहाँले सम्बद्ध सबैलाई निर्देशन दिनुभयो ।
प्रतिकृया दिनुहॊस