सत्ता गठबन्धनमा मिलेन सिट बाँडफाँट, उपेन्द्र र माधव असन्तुष्ट

काठमाडौँ । पाँच दलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । बिहीबार बालुवाटारमा शीर्ष नेतालाई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दाबीसहितको प्रतिवेदन बुझाएको कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । ‘मोटामोटी रूपमा हामीले सबै क्षेत्रमा सहमति कायम गरेका छौं । नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रिपक्षीय दाबी भने कम छ,’ पुनले भने, ‘अब बाँकी रहेका कुराहरू शीर्ष नेताहरूले मिलाउनुहुनेछ ।’

११ सदस्यीय कार्यदलले शीर्ष तहमा अपुरो प्रतिवेदन बुझाएपछि समेत शीर्षतहबाट पनि सहमति प्रयास जारी थियो । स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलको बैठकमा सिट संख्या विषयमा सबैभन्दा बढी समस्या नेकपा एकीकृत समाजवादी र जसपालाई बुझाउन भएको छ ।

समाजवादी अध्यक्ष माधव नेपाल आफूहरूलाई थोरै सिट दिएर गठबन्धनका कांग्रेस र माओवादीले हेपेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका छन् । यद्यपि गठबन्धनबीचमा सहमति प्रयास भने अझै जारी छ । त्यसका लागि आज दिउँसो ३ बजे शीर्ष तहको बैठक बस्नेछ ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्रारम्भिक खाका तयार गरिएको थियो । सो खाकामा नेकपा एकीकृत समाजवादी र जसपाको असमति रहँदै आइरहेको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री